ट्वीटरसहितका केही प्रख्यात इन्टरनेट ‘साइट’हरु केही समयका लागि तीन वटा साइबर हमलाबाट प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।
प्रयोगकर्ताहरुले ‘अनलाइन’ आफ्नो ‘साइट’ पत्ता लगाउन सकून भन्नका लागि प्रयोग गरिने इन्टरनेट सेवा दिने डायन नामक कम्पनीमाथि साइबर हमला भएको हो। ट्वीटर, रेडिट, साउण्ड क्लाउड, पे पाल, एमाजन जस्ता ‘साइट’हरु साइबर आक्रमणबाट प्रभावित भएका थिए।
यिनीहरु सबैले प्रयोगकर्ताहरुको संख्या तथा प्रवृत्तिबारे विश्लेषण गर्ने एवम् विवरण उपलब्ध गराउने डायनको सेवा लिने गरेका छन्। पछिल्लो १२ घण्टामा आफ्नो सेवा तीनपटकसम्म अवरुद्ध भएको डायनले जनाएको छ।
अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय र संघीय जांच ब्युरो एफबीआइले पछिल्लो घटनाको छानविन गरिरहेको बताइएको छ। साइबर हमलामा को संलग्न छ भन्नेबारे अहिलेसम्म प्रष्ट हुन सकेको छैन।
तर विकिलिक्सले आफ्ना समर्थकहरुलाई अमेरिकी इन्टरनेट कम्पनीमाथि आक्रमण नगर्न अनुरोध गरेको छ। विकिलिक्सको समर्थनमा भन्दै एनोनिमस नामक समूहसंग सम्बन्धित रहेको दावी गर्ने ह्याकरहरुले सन् २०१० मा पनि यस्तै खाले साइबर हमला गरेका थिए।
स्रोत – बीबीसी
0 Comments