काठमाडौँ । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो ।
टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले राससलाई जानकारी दिए ।उनका अनुसार २०१७ जनवरी १ (१७ पुस २०७३) देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ ।
अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ ।टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो ।
उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । निजी क्षेत्रको सेवाप्रदायक एनसेलले भने पुँजीगत लाभकर नतिरेकोले फोरजी सेवा संचालनको अनुमति पाएको छैन। प्राधिकरणले पुँजीगत लाभकर नतिरेकाले फोरजी सेवाको अनुमति नदिएको हो। अनुमति नपाएका कारण एनसेलको फोरजी सेवा अन्यौलमा परेको छ।
रासस
0 Comments